काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा ४३ जनाले दरखास्त दिएका छन् । उपकूलपतिका लागि आवेदन दिने अन्तिम समय सोमबार अपराह्न ४ बजेसम्म ४३ जनाले दरखास्त दिएका हुन् ।
त्रिविको उपकूलपतिका लागि मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले दरखास्त दिएका छन् । शिक्षा मन्त्रालय पुगेर उनले आवेदन दिएका छन् । सो विश्वविद्यालयमा उनको कार्यकाल फागुनमा सकिँदैछ । त्यसअघि नै सिंहले त्रिविको उपकूलपति हुन दरखास्त दिएका हुन् ।
त्रिविका पूर्व उपकूलपति तीर्थ खनियाँ, पूर्व रजिस्ट्रार चन्द्रमणि पौडेल, कार्यबाहक उपकूलपति शिवलाल भुसालले पनि उपकूलपतिका लागि दरखास्त दिएका छन् । त्रिविको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त हुन लागेको हो ।