काठमाडौं । काठमाडौं जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका प्रमुखसहित २ वडाध्यक्षलाई पक्राउ गर्न आदेश जारी गरेको छ । आइतबार अदालतले मेयर मिठाराम अधिकारीसहित २ जना वडाध्यक्ष र एकजना वडा सदस्यलाई १ महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको हो ।
न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले यस्तो फैसला सुनाएको हो । अदालतले वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र वडा सदस्य चन्द्रमान श्रेष्ठलाई सजाय सुनाएको हो ।
‘पालिकाले निवेदकको सम्पत्ति सम्बन्धी हक अधिकारलाई अतिक्रमण गरेको देखिन आएको छ । यसो गर्ने अधिकार राज्यको हुँदैन’, फैसलामा भनिएको छ,‘ प्रतिवादीले अदालतको फैसलाको सम्मान नगरी अदालतको फैसलाको नै अवज्ञा गरेको समेत देखिन आएको छ ।’
जिल्लाले यसअघि गरेको फैसला कार्यान्वयन गर्न अटेर गरेको भन्दै आइतबार यस्तो आदेश दिएको हो ।