काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको रवैया निरंकुशता उन्मुख भएको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले सञ्चार माध्यमको विषयवस्तुमाथि नियन्त्रण गर्न खोज्ने, संसदमा प्रतिपक्षीलाई बोल्न रोक्ने जस्ता सत्ता गठबन्धनको रवैया निरंकुशता उन्मुख र अनुदारवादी देखिएको बताएका हुन् ।
सञ्चार माध्यमलाई नियन्त्रण गर्न खोज्ने अहिलेको प्रवृति चिन्ताजनक रहेको भन्दै उनले अहिले जस्तो अवस्थामा ज्ञानेन्द्र शाहको शासनमा समेत नदेखिएको तर्क गरे । उनले सहकारी प्रकरणमा संसदीय छानविन समिति कांग्रेसले भनेकै जस्तो बन्ने र यस विषयमा संसदबाटै लड्ने बताएका थिए ।
महामन्त्री थापाले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए । प्रतिपक्षलाई संसद्मा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए । महामन्त्री थापाले नेपाली कांग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको बताए ।
‘प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र हो । प्रेसले प्रश्न उठाउन छोड्यो भने, त्यसले त्यहाँभित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त मर्यो’, थापाले भने, ‘त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन । प्रतिपक्षलाई संसद्मा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ ।’
उनले कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको कर्मको जवाफदेही सोही व्यक्ति हुनु पर्ने भए पनि कैलाश सिरोहियामाथिको अनुसन्धानको प्रक्रिया उचित नभएको धारणा राखे ।