काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियामाथिको अनुसन्धान प्रेस स्वतन्त्रतामाथिको हनन नभएको बताएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेका छन् ।
‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवि पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ’, उनले भनेका छन् ।
सिरोहियालाई जिल्ला अदालत धनुषाको अनुमति लिएर नागरिकता कीर्तेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको आफूहरुको जानकारीमा आएको रास्वपाले जनाएको छ ।
‘नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरुप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं’, जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हुने उल्लेख गर्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘कोही कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’
सिरोहियाले किर्ते नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा सर्लाहीका इन्द्रजित महतोले उजुरी दिएका थिए । त्यस आधारमा जिल्ला अदालत धनुषाले मंगलबार सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा मंगलबार नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो ।
