काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको ‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमको उद्घाटन गर्दै अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता हो–हल्ला गर्न जरुरी छैन ।’
उनले भने–सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उनरसिँग के हो रिसइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’
गृहमन्त्री रवि लामिछाने सिरोहियाको सवालमा व्यक्तिगत रूपमै उत्रेको भन्ने भनाइमा पनि सत्यता नभएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘त्यो मान्छेहरूले भन्ने कुरा मात्रै हो । अब उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ । यो हल भइहाल्छ ।’
यसैबीच प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ । मङ्गलवार काठमडाौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई आज बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको थियो । उनलाई धनुषा प्रहरीले केहीबेर अघि जिल्ला अदालत धनुषामा पेश गरेको हो ।
अदालतले उनीमाथि थप अनुसन्धानका लागि म्याद गप गर्ने वा थुनामुक्त गरी तारिखमा राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे आदेश गर्नेछ । मङ्गलवार जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो ।