काठमाडौं । मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ समरदेखि ध्याकर जाँदै गरेको ग १ त ४८०४ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे ।
वारागुङ मुक्तिक्षेत्र-३ को किटेन ध्याकर खोलामा ढुंगा लोड गरी ध्याकरणतर्फ जाँदै गर्दा ट्याक्टर सडकमार्गदेखि ६० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
दुर्घटनामा ट्याक्टरका चालक म्याग्दी जिल्ला धौलागिरि गाउँपालिका-४ बुडी घर भइ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ तेताङ बस्ने २० वर्षीय सन्तोष बिक गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जोमसोम अस्पतालमा मृत्यु भएको हाे ।
दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।