म्याग्दी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण कार्यलाई गति दिन निर्देशन दिएका छन् । सो सडकको शनिवार निरीक्षणका क्रममा मन्त्री ज्वालाले निर्माणमा ढिलाइ भएको भन्दै सम्बन्धित निर्माण व्यवसायीलाई छिटो काम गर्न निर्देशन दिएका हुन्।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनामा भएको ढिलासुस्तीले सबैको ध्यान तानेको उल्लेखगर्दै मन्त्री ज्वालाले कतिपय स्थानमा अझै ठेकेदारले ढिलासुस्ती गरेको देखिएको बताउँदै स्थानीयस्तरमा कतै निर्माण सामग्रीको अभाव पनि देखिएको बताए । किन ढिलासुस्ती भयो भन्नेबारे हाम्रो अनुगमन केन्द्रित भएकाले यसबारेमा सम्बन्धित निकायसँग चाँडै छलफल हुने ज्वालाको भनाई थियो ।
मन्त्री ज्वालाले काठमाडौं फर्किएपछि तुरुन्तै सबै पक्षसँग बसेर एउटा निष्कर्ष निकाली सडक निर्माणलाई गति दिने वातावरण बनाउने बताए । करिडोर आयोजना निर्माणमा देखिएका समस्यालाई स्थलगतरूपमा नै अध्ययन र अनुगमन गर्न सडक विभागको टोलीसहित मन्त्री ज्वाला मुस्ताङ पुुगेका हुन् ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुग्जाली, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख ध्रुव झा, प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायत टाmेीमा रहेका थिए । सो टोलीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र सिरुवारीस्थित पहिरोग्रस्त क्षेत्रको पनि अनुगमन गरेको थियो ।
म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन ७ अर्ब ५५ करोड रुपैयाँ लागत अनुुमान गरिएको योजनाका लागि गत आर्थिक वर्ष २०७९–८० सम्म ६ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । हालसम्म छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुुईवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । अठारवटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण सकिएको आयोजना प्रमुख ध्रुव झाले बताए ।