काठमाडौँ । रुस युक्रेन युुद्धका क्रममा थप तीन नेपालीले ज्यान गुुमाएका छन् । रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । पछिल्लो पटक मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन् ।
योसँगै रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको थियो। जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका थिए ।
यसैगरी रुसी सेनामा रहेका चार नेपालीलाई युक्रेनी फौजले कब्जामा लिएका छन् । उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको बताइएको छ । परराष्ट्रमन्त्री एनपी साउदीले रुसी सेनामा भर्ना भएकामध्ये एक सय जना सम्पर्कविहीन रहेको निवेदन प्राप्त भएको यसअघि नै बताइसकेका छन् । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका करिब दुुई सय युवा रुसी सेनामा भर्ना हुन गएको सूचना आएको उल्लेख गरेका थिए ।