काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ असंलग्न आन्दोलन नामको १९औँ शिखर बैठकमा भाग लिन माघ ४ गते युगान्डाको राजधानी कम्पाला जाने भएका छन् । प्रधानमन्त्री दहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री नेतृत्वको टोलीमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । शिखर सम्मेलनअन्तर्गत प्रधानमन्त्री प्रचण्डले माघ ५ गते ‘साझा वैश्विक समृद्धिका लागि सहयोग विस्तार’ विषयक प्रारम्भिक वैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नाम सम्मेलनमा सहभागी राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सम्मानमा सोही दिन गणतन्त्र युगाण्डाका राष्ट्रपति योएरी कगुटा मुसेभेनीले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । शिखर सम्मेलनका क्रममा प्रधानमन्त्रीले बिभिन्न देशका सरकार प्रमुख, राष्ट्राध्यक्ष एवं उच्चपदस्थ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शिखर सम्मेलन प्रारम्भ हुनुअघि आगामी माघ ३ र ४ गते परराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ । परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै मन्त्री साउद माघ २ गते कम्पालतर्फ प्रस्थान गर्नै कार्यक्रम रहेको छ । सोही क्रममा कम्पालामा माघ १ र २ गते परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित बैठक हुनेछ ।
शिखर बैठकले मन्त्रीस्तरीय बैठकको प्रतिवेदन समीक्षाका साथै सन् २०१९ मा नाम शिखर बैठकले पारित गरेका विषयको पनि पुनरावलोकन गर्नेछ । साथै बैठकले कम्पाला घोषणापत्र अनुमोदन गर्नेछ । नेपाल नामको संस्थापक सदस्य हो । स्थापनाकालदेखि नै नाममा नेपाल सक्रियरुपमा लागेको छ ।