काठमाडौं । दाङमा गएराती भएको बस दुर्घटनामा मृत्यु भएका आठको सनाखत भएको छ । मृतक १२ मध्ये आठ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सबै शव लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाको चन्दननाथ नगरपालिका–९ का ४० वर्षीय मुनबहादुर रावत रहेका छन् । त्यसैगरी अन्य मृतकमा बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमको गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, भारत विहारका ६७ वर्षीय योगेन्द्र राम तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ ।
बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए। घाइते मध्ये सातजनाको बुटवल, आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ६ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३००१ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ति नदीको पुलबाट तल खसेको थियो । प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।
यसैबीच प्रधानमन्ज्ञी पíपकमल दहाल प्रचण्डले घाइतेको प्रभावकारी उपचारमा ध्यान दिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।