काठमाडौं । दाङमा गएरती भएको रात्री बस दुुर्घट्नामा १२ जनाको ज्यान गएको छ । महेन्द्र राजमार्गस्थित देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको हो । अन्य १७ जना यात्रु घाइते भएका छन् ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिव १०ः३० बजे पुलबाट राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् । उनीहरुका अनुुसार, धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ ।
घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ । १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ ।
घटनास्थलमा सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी उद्धारकार्यमा खटिएका थिए । बस पुलको रेलिङ भाँच्दै सडकको दायाँबाट राप्ती नदीमा खसेको बताइएको छ।