काठमाडौँ । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आज सकिँदै छ । छ वर्षको पदावधि सकेर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ सदस्यको कार्यकाल सकिएको हो । नेपालको संविधान २०७२ अनुसार राष्ट्रियसभा सदस्यको कार्यकाल छ वर्ष तोकिएको छ ।
आजबाट पदावधि सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष र दुई राज्यमन्त्रीसहित २० जना रहेका छन् । एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा पार्वती, नरपति लुवार र रामचन्द्र राई छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको आजैदेखि पदावधि सकिँदै छ ।
त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि सकिँदै छ । माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादवको पदावधी सकिएको छ ।
त्यस्तै स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिएको छ । रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । निर्वाचित सांसदले सोमबार शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ । बाँकी एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नेछन् ।