काठमाडौं । कोशी प्रदेश नामाङ्कन गरिएको विरोधमा आन्दोलनरत प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले बिहीवार कालो दिन मनाएको छ । प्रदेशको नाम कोशी नामाङ्कन गरिएको दिन पारेर फागुन १७ गते पहिचान पक्षधरहरूले कालो दिन मनाएका हुन् ।
उनीहरूले राजधानी काठमाडौंको तीनकुनेमा कोशी नाम खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
गत वर्ष फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश १ को नाम कोशी रहने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको थियो । कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको थियो । प्रदेश १ को नाम कोशी भएपछि एकबर्षदेखि पहिचान पक्षधरले विरोध गर्दै आएका छन् ।