६५ आयोजना बहुवर्षीय ठेक्कामा, ५ अर्ब ४९ करोड बजेट सुनिश्चित

६५ आयोजना बहुवर्षीय ठेक्कामा, ५ अर्ब ४९ करोड बजेट सुनिश्चित

बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • ६५ आयोजना बहुवर्षीय ठेक्कामा, ५ अर्ब ४९ करोड बजेट सुनिश्चित

    गण्डकी । गण्डकी प्रदेशका ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको छ । 

    भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १ सय २० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी स्रोत सुनिश्चित गर्न सो मन्त्रालयमा प्रस्ताव गरेको थियो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले बहुवर्षीयमा छानिएका आयोजनाको ठेक्का प्रक्रिया सुरु भइसकेको जानकारी दिए । 

    “मन्त्रालयले प्रस्ताव गरेका एक सय २० आयोजनामध्ये ६५ आयोजनाको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनश्चित भइसकेको छ, बाँकी आर्थिक मामिला मन्त्रालयमा अध्ययनको क्रममा छन्”, उनले भने । बढीमा २५ करोड रुपैयाँ लागतसम्मका आयोजना बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार ५ करोड रुपैयाँ भन्दा कम लागतका ३३ र ५ करोड रुपैयाँभन्दा धेरै लागतका आयोजनाको सङ्ख्या ३२ रहेको छ । 

    बहुवर्षीय ठेक्काका लागि कास्कीका आठ, गोरखाका छ, तनहुँका आठ, नवलपुरका १०, पर्वतका चार, बागलुङका आठ, मुस्ताङको एक, मनाङका दुई, लमजुङका छ, स्याङ्जाका आठ र म्याग्दीका चार आयोजना छनोटमा परेका हुन् ।

    “आगामी तीन आर्थिक वर्षसम्मका लागि आयोजनाको बजेट सुनिश्चित गरिएको छ, यसबाट आयोजना निर्माणले गति लिने र समयमै सम्पन्न हुने विश्वास लिइएको छ”, प्रवक्ता पौडेलले भने, “थप आयोजनालाई पनि बहुवर्षीय ठेक्कामा लैजाने गरी तयारी भइरहेको छ, आर्थिक मामिला मन्त्रालयबाट स्वीकृत भएर आउन बाँकी छ ।”

    बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएका सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि ५ अर्ब ४९ करोड ६४ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट सुनिश्चित भएको मन्त्रालयले जनाएको छ । अधिकांश तीन वर्षका र केही दुई वर्षका आयोजना बहुवर्षीय ठेक्कामा जाने प्रवक्ता पौडेलले जानकारी दिए । चालु आर्थिक बर्षमा टुक्रे योजना कटौती गरेको मन्त्रालयले बहुवर्षीय आयोजना छनोट प्रक्रियालाई पनि थप व्यवस्थित बनाएको उनको भनाइ छ ।

    सङघ सरकारले पठाएका टुक्रे प्रकृतिका योजनासमेत फिर्ता गरेर त्यहाँको बजेट दायित्व सिर्जना भइसकेका ठूला आयोजना लागि व्यवस्थापन गरिने भएको छ । सङ्घ सरकारले चालु आर्थिक बर्षमा ३० लाख रुपैयाँभन्दा कम बजेटका १ सय ७४ वटा योजनाका लागि १६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । सो बजेट दायित्व सिर्जना भएका सङ्घीयका आठवटा सडक आयोजनामा रकामान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij