काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले आमाको निधन भएको एक वर्षपछि काजकिरिया शुरू गरेका छन् । काठमाडौंको पशुपतिस्थित कृयापुत्री घरको कोठा नम्बर ११३ मा उनी आमाको किरिया बसेका हुन् ।
बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले भण्डारी किरिया बसेको तस्वीर सामाजिक सञ्जालमा राख्दै मृतक आमालाई श्रद्धान्जली दिएका छन् । 'नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीज्यू तत्कालीन घटनामा गम्भीर घाइते हुदा उहाँकी माताको अकल्पनीय र दुखद् निधन भएको थियो । उक्त समयमा स्वास्थको कारणले आमाको क्रियामा बस्नसक्ने अवस्था थिएन,' उनले लेखेका छन्, 'यसैकारण अहिले उहाँ आमाको क्रियामा पशुपति कृयापुत्री भवन, रुम नम्बर ११३ मा हुनुहुन्छ ।'
गत वर्षको फागुन ३ गते राति बुद्धनगरस्थित आफ्नै घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमा छोरा घाइते भएका थिए। उनकी आमा ८६ वर्षीया हरिकला भण्डारीको भने उपचारका क्रममा मृत्यु भएको थियो।