काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट चोरी भएको शिशुको काडाँघारीबाट उद्धार भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शिशु चोरी भएको आठ घण्टापछि शुक्रबार मध्यरातमा काँडाघारीबाट सकुशल उद्वार गरिएको हो ।
प्रसुति गृहबाट शिशु चोरी गर्ने महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका १ घर भई काठमाडौं काँडाघारी बस्ने २४ वर्षीया मनिषा भनिने कीमन कुमारी सिंह, श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल, उनको दिदी शारदा शाही रहेका छन् । शिशु चोर्ने महिलाका श्रीमान नेपाली सेनामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
मनिषा शुक्रबार दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु लिएर फरार भएकी थिइन् । प्रहरीका अनुसार सीसिटिभी फुजेट पछ्याउँदै महिलाको डेरासम्म पुगेका प्रहरीलाई महिलाले सुरुमा बच्चा आफ्नै रहेको ढिपी गरेकी थिइन् । तीनपटकसम्म बच्चा खेर गएपछि अस्पतालबाट शिशु चोर्ने आयोजना बनाएकी उनी कोठामा सुत्केरी जस्तै बनेर बसेकी थिइन् ।
शिशु चोरी भएको भन्दै काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपनमा बस्दै आएकी सविना श्रेष्ठले जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी दिएपछि घटना बाहिर आएको हो। बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ।