काभ्रेका जिसस प्रमुख गौतम सडकमै बसे आमरण अनशन

काभ्रेका जिसस प्रमुख गौतम सडकमै बसे आमरण अनशन

शनिवार, फाल्गुण १२ २०८०
शनिवार, फाल्गुण १२ २०८०
  • काभ्रेका जिसस प्रमुख गौतम सडकमै बसे आमरण अनशन

    काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड विस्तारको काम ढिलाई भएपछि जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम आजदेखि आमरण अनशन बसेका छन् । उनले चार किलोमिटर उक्त सडकखण्ड विस्तार सम्झौताको करिव एक महिना बाँकी रहँदा एक तिहाई पनि काम नभएपछि आज दिउँसो २ः३० बजेदेखि आमरण अनशन बसेका हुन् ।
     
    गौतमले सडक बिस्तारको काममा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन पाँचखाल र धुलिखेल नगरपालिकाको सीमास्थल खावामा आमरण अनशन सुरु गरेको बताइएको छ । उनले जिल्लास्थित सम्पूर्ण निर्माणाधीन सडकको निर्माण  छिटो गर्न माग गर्दै आमरण अनशन बसेको बताए । “सम्पूर्ण सरोकारवालाको उपस्थितिमा सडक निर्माण सुरु गरेर सक्ने प्रतिबद्धता नजनाएसम्म आमरण अनशन बस्नेछु”, उनले भने । हाल केही हप्तादेखि उक्त सडक निर्माण ठप्प छ ।
     
    गौतमले यसअघि सडक बिस्तारको काममा निर्माण कम्पनीले ढिलाई गरेपछि पछिल्ला केही महिनादेखि पटकपटक जिल्लास्तरमा सरोकारवालासँग छलफल कार्यक्रम गर्दै आएका थिए । उक्त सडक स्तरोन्नतिसहित बिस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिना अर्थात् आउँदो चैत १९ गते सम्पन्न गर्नेगरी २०७९ जेठ २० गते सम्झौता भएको थियो । उक्त सडकखण्ड विस्तारका लागि व्यवसायीसँग २० करोड १९ लाख ४६ हजार ५०१ मा सम्झौता गरिएको थियो । 
     
    सम्झौताको समयावधि नजिकिँदै गर्दा एक तिहाइसमेत काम नसकिएपछि सडक डिभिजन कार्यालयले गत माघ तेस्रो साता ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको थियो । कार्यालयले ठेक्का तोडेर कार्यसम्पादन जमानत वापतको रकम समेत जफत गर्ने योजना बनाएको छ । साथै बाँकी काम सम्पन्न गर्न लाग्ने लागत समेत यसै निर्माण कम्पनीबाट असुलउपर गरिने कार्यालयले जनाउँदै आएको छ ।

    केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij