काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । घटनाका सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका छन् । सर्लाहीमा पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा गोली लागेर बरहथवा नगरपालिका वडा नं ५ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो ।
मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।