बाढीपहिरोले संकटग्रस्त पालिकाको संख्या ७१ पुर्‍याइयो

बाढीपहिरोले संकटग्रस्त पालिकाको संख्या ७१ पुर्‍याइयो

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • बाढीपहिरोले संकटग्रस्त पालिकाको संख्या ७१ पुर्‍याइयो

    काठमाडौं । सरकारले २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त घोषणा गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठककै मितिको निर्णयअनुसार संकटग्रस्त पालिकाको संख्या ७१ पुर्‍याइएको हो । 

    सबैभन्दा धेरै क्षति भएको काभ्रेका ११ सहित रामेछापका आठ, सिन्धुपाल्चोक, धादिङ र रौतहटका पाँच/पाँच, ललितपुर र सिन्धुलीका चार/चार, मकवानपुर, दोलखा, चितवन, ओखलढुङ्गा, पाँचथर, सोलुखुम्बु र खोटाङका तीन/तीन, महोत्तरी र सर्लाहीका दुई/दुई, सिरहा, सप्तरी, इलाम र उदयपुरका एक/एक वटा पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

    हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद् संकटग्रस्त पालिका ५९ भए पनि बढ्नसक्ने बताएका थिए । क्षतिको लेखाजोखा गर्न बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवको नेतृत्वमा बनेको समितिले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको छ । 

    यो समितिले १/२ दिनमा सरकारलाई रिपोर्ट बुझाउने तयारीसमेत गरेको छ । प्रारम्भीक रिपोर्टअनुसार अस्तिकै मन्त्रिपरिषद्‌ बैठकको निर्णयमा केही पालिका थपेर ७१ पुर्‍याइएको हो । 

    यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट करिब ५० अर्ब बराबरको आर्थिक क्षति भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए ।

    शहरी विकास मन्त्रालयमातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न मात्रै करिब २ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । शहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै विपद्‌बाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न सो लागत अनुमान गरेको जनाएको छ । 

    मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पुर्‍याएको जानकारी दिए । 

    स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ सडकखण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षतिग्रस्त र ३२ झोलुङ्गे पुल पूरै ध्वस्त भएका छन् । यी संरचना पूर्णरुपमा निर्माण तथा सुधार गर्न १ अर्ब ७७ करोड ४ लाख लागत अनुमान गरिएको छ ।

    बज्राचार्यले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्न १२ करोड ८१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी दिए । 

    गृह मन्त्रालयका विवरणअनुसार २ दिनको अविरल वर्षाले २४६ जनाको ज्यान लियो भने अझै १८ जना बेपत्ता छन् । प्राधिकरणका प्रवक्ता भट्टराईले भने विभिन्न निकायले मिलेर राहत र उद्धार गरिरहेको बताए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij