काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा २३ वटा सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
यूएईको गृह मन्त्रालयका अनुसार बुधबार मध्यरात हुनुभन्दा केही समयअघि फुजैराह इमिरेटको प्रवेशद्वारमा १८ वटा कार र पाँचवटा ट्रक एकआपसमा ठोक्किएका हुन् ।
एक ट्रक चालकले सवारीसाधनमाथिको नियन्त्रण गुमाएपछि अर्को ट्रकसँग ठोक्किएको र त्यसपछि दुवै ट्रक सडकबाट अनियन्त्रित हुँदै ट्राफिक जाममा रोकिएका अन्य सवारीसाधनमा ठोक्किएका थिए ।
ठक्करपछि ट्रकमा आगलागी हुँदा आगो अन्य सवारीसाधनमा समेत फैलिएको मन्त्रालयले जनाएको छ । दुर्घटनापछि उद्धार तथा व्यवस्थापनका लागि आपत्कालीन र विशेष टोली परिचालन गरिएको छ ।
घाइतेमध्ये १५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी १५ जनाको उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामा यूएईका नागरिकसँगै विदेशी नागरिक पनि छन् । मृतकको पहिचान खुलाउन डीएनए परीक्षण भइरहेको छ ।
मन्त्रालयका अनुसार घाइते हुनेहरूमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक रहेका छन् ।