काठमाडौं । इजिप्टको गिजा सहरनजिकै दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् ।
बीबीसीका अनुसार दुर्घटनालगत्तै उद्धार तथा उपचारका लागि ७२ वटा एम्बुलेन्स परिचालन गरिएको थियो । मृत्यु हुनेमध्ये एक जना रेल चालकसमेत रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
रेलवे प्राधिकरणका अनुसार गिजाबाट कायरोको दक्षिणी क्षेत्र फायुमतर्फ जाँदै गरेको रेलले कायरोबाट अस्वानतर्फ गइरहेको अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करका कारण रेलका केही डिब्बा लिकबाट खसेर सडक किनारको भिरमा पुगेका थिए । घटनास्थलमा उद्धार टोली र क्रेन परिचालन गरी उद्धार कार्य गरिएको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको तत्काल अनुसन्धान गर्न र दोषी पाइएकालाई कारबाही गर्न निर्देशन दिएका छन् ।
दुर्घटनापछि प्रभावित क्षेत्रका अस्पताललाई उच्च सतर्कतामा राखिएको छ भने गिजा र माथिल्लो इजिप्ट क्षेत्रबीच सञ्चालन हुने रेल सेवा स्थगित गरिएको बीबीसीले जनाएको छ ।
यसअघि सन् २००२ मा पनि यही अल–अय्यात क्षेत्रमा रेलमा आगलागी हुँदा ३७० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।