काठमाडौं । गएको असोज १०, ११ र १२ को बाढी/पहिरो र डुबानबाट झन्डै ११ हजार परिवार विस्थापित भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको क्षतिको प्रारम्भिक प्रतिवेदन अनुसार १० हजार आठ सय सात परिवार विस्थापित भएको अनुमान गरिएको छ ।
गृह मन्त्रालयमा हिजो बुझाइएको प्रतिवेदनअनुसार बाढीपहिरोमा चार हजार छ सय ६७ घर पूर्ण रूपमा र पाँच हजार तीन सय १० घरमा आंशिक क्षति पुगेको उल्लेख छ । गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार पछिल्लो मनसुनजन्य विपद्बाट ४६ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन छ । बाढी/पहिरोबाट सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनामा मात्रै दुई अर्ब ८८ करोड ३४ लाख रुपैयाँबराबरको क्षति पुगेको छ ।