भारतबाट पाइपलाइनमार्फत आउन थाल्यो पेट्रोल, नियमित आउन केही समय अझै लाग्ने

भारतबाट पाइपलाइनमार्फत आउन थाल्यो पेट्रोल, नियमित आउन केही समय अझै लाग्ने

बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • भारतबाट पाइपलाइनमार्फत आउन थाल्यो पेट्रोल, नियमित आउन केही समय अझै लाग्ने

    काठमाडौं ।  भारतबाट पाइपलाइनमार्फत पेट्रोल  आउन थालेको छ । नेपाल आयल निगमले अहिले डिजेल मात्र त्यसरी ल्याइरहेकोमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट पेट्रोल पनि ल्याउन थालेको हो । निगमले नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट गत शुक्रबार र शनिबार दुई दिन पेट्रोल ल्याएको छ । 

    भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म विस्तार भएको अन्तर्देशीय पाइपलाइन ४ वर्षअघि सञ्चालनमा छ। त्यसमा डिजेल ल्याउने गरिएको थियो। पेट्रोल पनि उक्त पाइपलाइन हुँदै ल्याउनका लागि अन्य पूर्वाधार निर्माणको काम भइरहेको थियो।  

    निगमले पहिलो लटमा ५ हजार किलोलिटर अर्थात ५ लाख लिटर पेट्रोल पाइपलाइनमार्फत नेपाल ल्याएको हो। निगमले उक्त पेट्रोल इन्डियन आयल कर्पोरेसनमा परीक्षणका लागि नमुना पठाएको जनाइएको छ । पाइपलाइनबाट पहिलो लट ५ लाख लिटर पेट्रोल आएको छ भने यसरी ल्याइएको पेट्रोलको गुणस्तर जाँच गर्नुपर्छ। त्यसैले आईओसीमा नमुना पठाइएको हो।

    ब्याच फर्मेसन टेस्टको क्वालिटी कन्ट्रोल (क्युसी) पास भएपछि मात्रै पाइपलाइनबाट पेट्रोल आयातले नियमितता पाउनेछ।  पाइपलाइन हुँदै पेट्रोल नियमित नेपाल आउन अझै केही समय लाग्ने निगमले जनाएको छ। यसमा प्रधानमन्त्रीले उक्त पाइपलाइनबाट पेट्रोल आउने समयमा उद्घाटन गर्ने योजनाअनुसार निगमले कार्यतालिका बनाएको छ। अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा उक्त पाइपलाइन परियोजना निर्माणको सम्झौता भएको थियो।  

    अबको एक महिनाभित्र पेट्रोल पाइपलाइनबाट नियमित रुपमा आउनेछ। अमलेखगञ्जमा चार/चार हजार किलोलिटरका दुई पेट्रोल भण्डारन ट्यांकी निर्माण भइसकेका छन्। एउटै पाइपबाट एक पटकमा डिजेल र अर्को पटक पेट्रोल पठाउँदा केही मात्रामा मिसिएर आउने गर्छ। त्यस्तो तेल राख्नका लागि पनि छुट्टै ट्यांकी बनाइएको छ । 

    यस्तै २५०/२५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, ३१/३१ लिटरका दुई वटा पानी ट्यांक, अत्याधुनिक ल्याब, इलेक्ट्रिक उपकरणसहितका भवन, पम्पहाउस र पाइपलाइन लगायतका पूर्वाधार निर्माण गरिएको छ।

    अहिलेसम्म म्यानुअल सिस्टममा रड डिप गरेर पेट्रोल, डिजेल मापन गरेर ट्यांकरमा लोड गर्दै आएकोमा अब कम्युटर प्रणालीबाटै परिमाण मापन गरी लोडिङ गर्न पुरानो म्यानुअल सिस्टमलाई विस्थापित गरेर अटोमेटेड सिस्टम प्रयोग गर्ने गरी पूर्वाधार निर्माण भइरहेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij