काठमाडौं । श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान पक्राउ परेका छन्। मंगलबार साँझ ६ः२० बजे उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङ पक्राउ परेका हुन्।
हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट असोज १३ मा घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
ताप्ली गाउँपालिका–४ थानागाउँ स्थायी घर भई उनीहरू त्रियुगा नगरपालिका– ६ जलजलेस्थित वडा कार्यालय नजिकै शम्शेर तामाङको घरमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका थिए।
उनीहरूका दुईजना बच्चा छन् । शमशेर तामाङको घरमा डेरा लिएर प्रमीलाले चियाको व्यापार गर्दै आएकी थिइन् । चिया बेचेर कोरियन भाषा पनि सिक्दै गरेकी उनका दुई छोरा ४ र १ कक्षामा पढ्छन् । दम्पतीको बिचमा करिब दुई वर्षदेखि राम्रो सम्बन्ध थिएन ।
सम्बन्ध सुधारेर सँगै बस्नेबारे छलफल हुँदा उनीहरूको बिचमा विवादपछि हत्या भएको थाहा भएको छ । हत्या गरेपछि उनले खुकुरीले टाउको काटेर बोकेर हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले करिब १ किलोमिटर परबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।