काठमाडौं । दशैंका लागि सर्वसाधारणले गएको एक सातामा नेपाल राष्ट्र बैँकबाट ९४ करोड रुपैयाँ सुकिला नोट सहटी सुविधा लिएका छन् । गत असोज १३ गते देखि २० गते (हिजो) सम्ममा ९३ करोड ८० लाख रुपैयाँ सटही भएको केन्द्रिय बैंकले जनाएकाे छ ।
उनका अनुसार यो रकम राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयबाट साटिएको रकम हो । बैँकले यो पटक ५, १०, २०, ५० र १०० को नोटको सटही सुविधा दिएको छ ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालयले सटही सुविधा शुरु गरेको पहिलो दिन असोज १३ गते १ करोड ४५ लाख रुपैयाँ वितरण गरेको थियो । असोज १४ गते १ करोड ८० लाख, असोज १५ गते २ करोड ३० लाख र असोज १६ गते २ करोड २ करोड ९२ लाख रुपैयाँ बाँडेको थियो । बैक तथा वित्तीय संस्थाले सटही गरेको रकम भने केन्द्रीय बैंकको तथ्यांकमा हुँदैन ।
नेपाल राष्ट्र बैंकले गत असोज १३ देखि सर्वसाधारणलाई नोट साट्नका लागि सूचना नै जारी गरेको थियो । बैँकले असोज २२ (भोलि) सम्म सुकिला नोट साटन सक्ने व्यवस्था गरेको छ । सर्वसाधारणले सबै दरका एक/एक थान गरी प्रतिव्यक्ति १८ हजार ५ सय रूपैयाँसम्म साट्न सक्नेछन् ।
राष्ट्र बैंकले सुकिला नोट साट्नका लागि केन्द्रीय कार्यालय बालुवाटारमा आठ वटा काउण्टर सञ्चालन गरेको छ भने सातैवटा प्रादेशिक कार्यालयबाट पनि रकम सटही सुविधा दिएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेश स्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिनेछ । त्यस्तै, केन्द्रीय बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट साट्न सकिने छ ।
यस अघिका वर्षको दशैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट नै वितरण गर्दथ्यो । तर, यो वर्ष भने केन्द्रिय बैंकले नयाँ नोटको नभई सुकिला नोट मात्रै वितरण गरेको छ । नयाँ नोट छाप्नका लागि अतिरिक्त रकम लाग्ने र सुकिला नोट पनि व्यवस्थापन हुने भएपछि केन्द्रीय बैंकले यो वर्ष सुकिला नोट मात्रै वितरण गर्ने निर्णय गरेको हो ।