काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्नका लागि बनाइएको जाँचबुझ समिति रद्द गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त जाँचबुझ समिति साढे दुई वर्षपछि रद्द गरेको हो ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नै अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । अहिले उनै नेतृत्वको मन्त्रिपरिषद्ले समिति रद्द गरेको हो ।
दुई वर्षअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरेको थियो ।
देउवा नेतृत्वको सरकारले गभर्नर पदबाट हटाउन छानबिन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएसँगै निलम्बनमा परे पनि सर्वोच्च अदालतले छानबिन प्रक्रिया रोक्न आदेश दिएपछि अधिकारीले निरन्तरता पाएका थिए ।
देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०७८ चैत १४ गते अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेको थियो । अधिकारीले निरन्तरता पाए पनि मन्त्रिपरिषद्को निर्णय भने हेरफेर भएको थिएन ।
गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको थियो । समिति सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल थिए । समितिलाई एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउन भनिए पनि साढे दुई वर्षसम्म राजनीतिक दबाबमा बुझाउन सकेको थिए ।