चाडबाडको मुखमा बजार अनुगमन, अखाद्य वस्तु जफत

चाडबाडको मुखमा बजार अनुगमन, अखाद्य वस्तु जफत

शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • चाडबाडको मुखमा बजार अनुगमन, अखाद्य वस्तु जफत

    काठमाडौं ।  दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका महानगरका उपप्रमुख एवं उपभोक्ता संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले बताए ।

    उनका अनुसार शुक्रबार पोखरा–२ को भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, पोखरा–३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा–८ मा रहेको सहारा ट्रेडिङमा अनुगमन गरिएको हो । 

    अनुुगमनका क्रममा म्याद गुु्ज्रेका खाद्य सामग्री, सरकारले प्रतिबन्ध लगाएका प्लाष्टिकको माला तथा फूलका गुुच्छालगायत गरी ११ हजार १ सय ७९ रुपैयाँ बराबरको सामग्री जफत गरी नष्ट गरिएको संयोजक गुरुङले जानकारी दिए । ती पसलमा प्याकेजिङ अनुमति पत्र नलिई सामान प्याकेजिङ गरेको, व्यवसाय नवीकरण नगरेको, नापतौल दर्ता नभएको पाइएको उनको भनाइ छ । 

    अनुुगमन गरिएका आठ वटै पसलका सञ्चालकलाई यही असोज २१ ग्ते महानगरमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताए । चाडबाडका बेला बजारमा हुने उपभोक्ताको भीडभाडको मौका छोपेर व्यवसायीले म्याद गुज्रेका सामान बेच्ने गरेको गुनासो आउने गरेको गरेको छ । बजारमा कृत्रिम अभाव देखाएर मनलाग्दी रुपमा सामानको भाउ बढाउने व्यवसायीलाई कारबाही गरिने अधिकृत सापकोटाले बताए । 

    तिहारसम्मै बजार अनुगमनलाई तीव्रता दिइने महानगरले जनाएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायतका प्रतिनिधि सहभागी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij