बाढीले कमला नहर सिँचाइ आयोजनामा क्षति

बाढीले कमला नहर सिँचाइ आयोजनामा क्षति

शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • बाढीले कमला नहर सिँचाइ आयोजनामा क्षति

    गोलबजार । केही दिनअघि आएको बाढीले कमला नहर सिँचाइ आयोजनामा करिब ७ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको कमला नहर सिँचाइ आयोजना कार्यालले जनाएको छ । नहर, ‘साइफन’ तथा सिँचाइको प्रमुख केन्द्रमा बालुवा पसेर क्षति पुर्याएको हो । 

    आयोजना प्रमुख वीरेन्द्र यादवका अनुसार नहरको पूर्वी क्षेत्रको प्रणाली सिरहा, पश्चिमी क्षेत्रको प्रणाली तथा हर्दिनाथ सिँचाइ प्रणाली गरी साढे सात करोडबढीको भौतिक क्षति भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिएको छ ।

    सिरहा र धनुषाको गरी कुल २७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइरहेको सो आयोजनाको क्षमता थप भई पछिल्लो समय ३८ हजार हेक्टर पुगेको थियो । अविरल वर्षासँगै आएको बाढीबाट क्षतिग्रस्त हुँदा सिँचाइमा समस्या भएको प्रमुख यादवले बताए । 

    कमला नहरसहित नहरसम्म पुग्ने ग्राभेल बाटोमा क्षति हुनुका साथै भौतिक संरचना नष्ट भएका अयोजना कार्यालयका सबइञ्जिनियर सुभाष यादवले बताए । ती संरचना पुनःनिर्माण गर्न आर्थिक अभाव भएकाले सरोकार भएका निकायले सहयोग गर्नुपर्ने उनले उल्लेख गरे ।
     
    कर्जनहा नगरपालिकाका ममता यादवले यसअघि कमला नहर यहाँका किसानका लागि वरदान जस्तै बनेको बताए । यथाशीघ्र पुनःनिर्माण गरी किसानलाई सहज रुपमा सिँचाइको सुविधा पुर्याउनुपर्नेमा उनले जोड दिए। 

    आयोजनाले धनुषाका चारनाथ, सबैला, सहिद, विदेह, कमला, हंसपुर नगरपालिका तथा औरही र जनकनन्दनी गाउँपालिकाका साथै सिरहातर्फ कर्जन्हा, मिर्चेया, कल्यानपुर, सिरहा र सुखिपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिकामा सिँचाइ सुविधा पुर्याएको छ ।

    २०१७ सालमा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले उक्त आयोजना शिलान्यास गरेका थियो । आयोजनाले २०४० सालदेखि सिँचाइ सुविधा पुर्याउन थालेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij