काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड आजदेखि एकतर्फी रूपमा खुलेको छ ।
अविरल वर्षासँगैको बाढी पहिरोले राजमार्गका विभिन्न ठाउँमा पहिरोले अवरुद्ध हुँदा खुर्कोट–घुर्मी खण्ड पाँच दिनदेखि ठप्प थियो । आज दिउँसोदेखि सडक एकतर्फी सञ्चालनमा आएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए । खुर्कोट–घुर्मी खण्ड ६१ किलोमिटर लामो दूरीको छ ।
राजमार्ग सञ्चालनमा आए पनि जोखिम भने कायमै छ । यस क्षेत्रमा वर्षाले जमिन कमलो बनाएकाले सुक्खा पहिरोको जोखिम कायम रहने भन्दै रात्रिकालीन यात्रा गर्नु जोखिमपूर्ण हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ ।