काठमाडौँ । गत साताको बाढीपहिरोमा परेर नेपाली सेनाका एक कर्णेलसहित तीन जनाको निधन भएको छ । मृत्यु हुनेमा प्रमुख सेनानी मिलन केसी, अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्द रहेका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ मा पहिरोले पुरिएकाको उद्धारका क्रममा कर्णेल केसीको निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसैगरी अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका–१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ रहेको अवस्थामा ज्यान गएको जनाइएको छ । अर्का एक जना भूपू हवल्दारको समेत बाढीपहिरोमा परी निधन भएको निर्देशनालयले जनाएको छ ।
बाढीपहिरोबाट सेनाका केही व्यारेकमा क्षति भएको जनाइएको छ । बाढीपहिरोका घटनालगत्तै नेपाली सेनाले प्रभावित क्षेत्रमा तत्कालै परिचालन भइ खोजी, उद्धार र राहत सामग्री वितरण कार्यमा सक्रियताका साथ काम गर्दैआएको छ ।