काठमाडौं । कैलालीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका-१ मा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प९२५२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै अस्पताल लगिएकोमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि बसेका एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।