काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई होटललाई तीन/तीन लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागले नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको हो ।
यस्तै, बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो । दुबै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि ३/ ३ लाख रुपैयाँका दरले जरिवाना तिराइएको विभागले जनाएको छ ।
विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।