काठमाडौं । बझाङमा विपद उद्धारसम्बन्धी तालिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन् ।
सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको हो ।
धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए । सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो ।
विपद् व्यवस्थापनमा अनुभवी उद्धारकर्ता थिए । अनुभवी व्यक्तिको पनि कसरी ज्यान गएको भन्नेबारे आफूहरु पनि अचम्मित भएको जनाइएको छ ।