काठमाडौं । सरकार मातहतमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उद्यम कर्जा प्रवाह गर्न १८३ वटा स्टार्टअपलाई छानेको छ । औद्योगिक विकास प्रतिष्ठानले एक सुचना निकाल्दै कर्जा सिफारिस गरिएको परियोजनाको सूची सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका अनुसार योग्य प्रस्तावकको सूचीमा परेका ३९४ वटा परियोजनाबाट १८३ वटा स्टार्टअप छानेको हो । छनोटमा परेका स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने तयारी गरेको छ ।
सरकारले यस वर्ष स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ भने मन्त्रालयले ११ माघ २०८० मा ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि(२०८०’ स्वीकृति गरेको थियो । सोही कार्यविधि अनुसार सरकारले प्रस्तुतीकरणको ढाँचा, फोटो र भिडियो सहित उल्लेख गरेर स्टार्टअप उद्यम कर्जाका लागि निवदेन माग गरेको थियो ।
प्रस्तुतीकरणमा ३३५ वटा परियोजना प्रस्तावकहरूले प्रस्तुतीकरण गरे पनि प्रस्तावकहरूको फोटो, भिडियो, वित्तीय तथा अन्य विवरण, प्रस्तुतीकरण र प्रश्नोत्तरलाई समेत आधार मानी मूल्यांकन समितिले अन्तिम सूची प्रकाशित गरेको हो ।
प्रस्तावकहरूले तीन प्रतिशत ब्याजमा ५ लाख रूपैयाँदेखि २० लाख रूपैयाँसम्म कर्जा पाउनेछन्। उक्त कर्जाको सीमा पाँच वर्षका लागि हुनेछ। कर्जा पाउने सूचीकृत व्यक्तिहरूले ३० दिनभित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा सम्पर्क गरिसक्नु पर्नेछ। सम्पर्क नभए परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुने छ ।
कर्जा प्राप्त गरेका प्रस्तावकहरूले तोकिएको समयमा कर्जाको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने छ। भुक्तानी नगरेमा स्टार्ट–अप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार कारबाही हुनेछ। कार्यविधिमा उल्लेख भए अनुसार १६ क्षेत्रमा ऋण दिइने छ। कृषि तथा पशुपंछी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्योग–व्यवसाय गर्नेले स्टार्ट–अप ऋण पाउने छन्।
कर्जा सिफारिसमा परेका परियोजनाहरूको सूचीः