काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको मुद्दामा सर्वोच्च अदालतले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ। आइतबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले यस मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो।
शुक्रबारदेखि न्यायाधीशद्वय फुयाँल र श्रेष्ठको इजलासमा सुनुवाइ हुँदै आएको थियो । दुई दिनको बहस सुनेपछि सर्वोच्चले तीन न्यायाधीशको पूर्ण इजलासमा पठाएको हो ।
वैशाख २३ गते जसपा नेपालका ७ संघीय सांसद सहितका नेताहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले वैशाख २४ गते अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी नाममा नयाँ दल दर्ता गरेको थियो ।
तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका नेताहरुले दिएको निवेदनका आधारमा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय संविधान र कानुन विपरीत भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनै यादवले आफ्नो दलबाट फुटेर गएका ७ सांसदलाई प्रतिनिधिसभा सदस्यको हैसियतमा कामकाज गर्नबाट रोक लगाउन माग गर्दै अर्को रिट दर्ता गरेका थिए ।
सर्वोच्चले दुबै मुद्दालाई साथै राखेर आइतबार दुई न्यायाधीशको इजलासमा सुनुवाइ गरेको थियो । तर इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।