काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर राष्ट्रिय अनुसन्धान विभागको उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
चौधरीले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट बि.ए. उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिई त्यसपश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरी हाल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा चौधरीलाई कैद र जरिवाना सजायको माग गरेको छ ।