काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम घर भएका ३९ वर्षीय रुपेश राज गिरी, स्याङ्जा घर भएका ४५ वर्षीय राजु ढकाल, र धनुषा घर भएका २२ वर्षीय युवराज ठाकुर छन् ।
आकर्षक तलब आउने काम मिलाइदिने गरी विदेश पठाउँछौँ भनेर रकम लिएपछि आरोपीहरू फरार भएका हुन् । काठमाडौंको सुकेधारा बस्ने गिरीले रोमनिया पठाउँछु भनेर देव सिंह महता सहितका पीडितहरूबाट ८ लाख नगद लिएका हुन् ।
राजु ढकालले दुबई पठाउँछु भनेर २ लाख ५० हजार र युवराज ठाकुरले पोल्याण्ड पठाउँछु भनेर ८ लाख ठगी गरेको जनाइएको छ ।