मनसुनबाट १८ लाख मानिस प्रभावित हुने आंकलन

मनसुनबाट १८ लाख मानिस प्रभावित हुने आंकलन

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • मनसुनबाट १८ लाख मानिस प्रभावित हुने आंकलन

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनजन्य विपदबाट १८ लाख जना नागरिक प्रभावित हुने आकलन गरेको छ। प्राधिकरणले ४ लाख १२ हजार घरधुरी कुनै न कुनै हिसाबले प्रभावित हुन सक्ने अनुमान गरेको छ।

    यो गत वर्षको तुलनामा ६ लाखले बढी हो । गत २०८० सालको मनसुन अवधिमा प्राधिकरणले मनसुनजन्य विपदबाट १२ लाख ५४ हजार व्यक्ति र २ लाख ८६ हजार घरधुरी प्रभावित हुने अनुमान सार्वजनिक गरेको थियो ।

    यस वर्ष प्रत्यक्ष प्रभावित हुनसक्ने घर परिवारको संख्या ८३ हजार र उद्धार तथा राहत दिनुपर्ने घर परिवारको संख्या १८ हजार हुने अनुमान छ । यसवर्षको मनसुन अवधिमा अघिल्लो वर्षको तुलनामा बढी प्रभाव पर्ने आँकलनका आधारमा सेना, सशस्त्र र नेपाल प्रहरीको जनशक्ति पनि ३१ हजारभन्दा बढी परिचालन गर्ने योजना छ ।

    मनसुनजन्य विपदबाट सबैभन्दा बढी कोशी प्रदेशमा प्रभावित हुने अनुमान छ। अघिल्लो वर्ष पनि मनसुन सुरू हुनेबित्तिकै ताप्लेजुङ, संखुवासभा र पाँचथरमा बाढीले क्षति पुर्याएको थियो। 

    कोशी प्रदेशमा ४ लाख ९५ हजार ३ सय ५२ जना प्रभावित हुने अनुमान छ। एक लाख १३ हजार ३ सय ५३ घरधुरी प्रभावित हुने अनुमान छ। जसमध्ये २२ हजार घरधुरी प्रत्यक्ष प्रभावित र ५ हजार घरधुरीलाई उद्धार र राहत दिनुपर्ने अनुमान छ।

    मधेसमा ४ लाख २९ हजार ४ सय ४ जना र ९८ हजार २ सय ६२ घरधुरी प्रभावित हुने आकलन छ। जसमा २० हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने र ४ हजार घर–परिवारलाई उद्धार र राहत दिनुपर्ने कार्ययोजनामा उल्लेख छ।

    लुम्बिनी प्रदेशमा पनि मनसुनजन्य विपदबाट ३ लाख ३६ हजार ५ सय ५८ जना प्रभावित हुने आकलन छ। ७७ हजार १६ घरधुरी र १५ हजार परिवार प्रत्यक्ष प्रभावित हुने आकलन छ। ३ हजार घरपरिवारलाई उद्धार र राहत दिनुपर्ने उल्लेख छ। 

    बागमतीमा १ लाख ४५ हजार ८ सय ८३ जना प्रभावित हुने अनुमान गरिएको छ। बागमती प्रदेशमा ३३ हजार ३ सय ७१ घरधुरी प्रभावित हुने आकलन छ। जसमध्ये ७ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १ हजार ५ सय घरलाई राहत दिनुपर्ने कार्ययोजनामा उल्लेख छ।

    गण्डकीमा १ लाख १० हजार ५ सय ५४ जना र २५ हजार २९८ घरधुरी प्रभावित हुने आकलन छ। ५ हजार घरपरिवार प्रत्यक्ष प्रभावित र १ हजारलाई उद्धार र राहत दिनुपर्ने उल्लेख छ। कर्णाली प्रदेशमा ५० हजार ४ सय ६४  जना प्रभावित हुने प्रक्षेपण छ। ११ हजार ५४८ घरधुरी प्रभावित हुने र ५ हजार घर प्रत्यक्ष प्रभावित हुने आकलन छ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij