काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४, लाङटाङमा ट्रेकिङ गएका एक जनाको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ का २४ वर्षीय विजय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुन्चे रसुवाले जनाएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु हुदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै आएका तामाङको ५६०० मिटरको उचाईमा रहेको लाङसिसा आसपास क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षकको कमाण्डमा र प्रहरी चौकी लाङटाङबाट प्रहरी घटनास्थलमा पुगेको थियो । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज फरेन्सिक मेडिसिन विभागमा पठाइएको प्रहरीले जनाएको छ ।