काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।
परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर लामिछानेलाई यसअघि पनि भिसा दिन अस्वीकार गरेको थियो ।
बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले जेठ २ गते उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी(२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी थियो ।
सन्दीपलाई अमेरिकाको भिसा दिनुपर्ने भन्दै बुधबार काठमाडौंको माइतीघरमा केही युवाहरुले प्रदर्शन पनि गरेका थिए ।