काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्ने गरी सरकारले काम गर्ने बताएका छन् । राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतदेखि सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकार बीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने विषय समेटिएका छन् ।
यस्तै, ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाईं सुविधा पुर्याउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।
गुठी सम्बन्धी कानुन व्यवस्थित गर्ने र दोहोरो स्वामित्वको समस्या समाधान गर्ने पनि सरकारले बताएको छ ।