काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन नारायणगढको नारायणी नदीमा बन्ने आधुनिक नयाँ पुलको शिलान्यास भएको छ । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी बर्दघाट सुस्तापूर्व गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शिलान्यास गरेका हुन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत उक्त पुलले चितवन जिल्ला भरतपुर महानगरपालिका र गण्डकी प्रदेश नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने छ ।
आगामी तीन वर्षभित्र अत्याधुनिक सिग्नेचर पुल निर्माण हुने पुल महाशाखाले जनाएको छ । ४ सय २० मिटर लम्बाइको सो पुल दुई खम्बे हुनेछ भने चौडाइ १२ मिटर हुनेछ । सो पुलमा साइकल लेन समेत निर्माण हुनेछ ।
पुल निर्माणका लागि कुल १ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान छ । तुंदी कन्सट्रक्सन प्रालिले पुल निर्माणको ठेक्का पाएको छ । नयाँ पुलमा दुई ठाउँमा टावर राखिनेछ भने दुई वटा पिल्लर रहनेछन् । यो पुलमुनिबाट पानी जहाज सञ्चालन गर्न सकिने छ ।
४२० मिटर लामो पुल अहिलेकै पुल छेउमा निर्माण हुँदै छ । पुरानो पुलको २०३८ सालमा निर्माण भएको थियो ।