भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले चालु आर्थिक वर्षको ९ महिनामा १ लाख ४० हजार भन्दा बढीकाे उपचार गरेकाे छ । अस्पतालबाट आर्थिक वर्ष २०८०/८१ को साउन देखि चैतसम्मको अवधिमा १ लाख ४१ हजार २३२ जनाले ओपिडी सेवा लिएका हुन् ।
ओपिडी सेवा लिनेको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशत भन्दा धेरैले बढेको अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशनले बताए । आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्ममा ओपिडी सेवा लिने बिरामीको संख्या एक लाख ४ हजार २८० थियो । ओपिडीमार्फत् सेवा लिने सेवाग्राहीको संख्या यसपटक ३६ हजार ९५२ जनाले बढेर १ लाख ४१ हजार २३२ जना पुगेको अस्पतालले जनाएको छ । सोही अनुपातमा सेवाग्राही बढ्दै जाँदा आगामी आर्थिक वर्षमा १ लाख ९२ हजार ४१६ लाई ओपिडीमार्फत् सेवा दिन सकिने डा. रौशनले बताए ।

ओपिडी मात्र हाेइन, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा शल्यक्रिया गराउनेको संख्या पनि यस वर्ष दोब्बर भन्दा बढीले वृद्धि भएको कार्यकारी निर्देशक रौशनले बताए । अस्पतालले ९ महिनाको अवधिमा १ हजार ६५५ शल्यक्रिया गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १२९ प्रतिशतले बढी हो । ‘गत चैतसम्ममा अस्पतालबाट ७२३ जनाले शल्यक्रिया गराएका थिए । आगामी वर्षको सोही अवधिसम्ममा १ हजार ९२० जनाको सफल शल्यक्रिया गर्ने हामीले प्रक्षेपण गरेका छौं’ उनले भने ।
अस्पतालले सुविधा बढाउँदै लगेर सेवाग्राहीलाई राम्रो सुविधा दिएका कारण अस्पतालमा उपचार गराउन आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको डा. रौशनले दाबी गरे । गत वर्षबाट मात्रै सुरु गरिएको सिटी स्क्यान सेवाबाट ९०१ जनाले लाभ लिएको उनले बताए । सो अवधिमा २ हजार ६०८ जनाले आईपिडी सेवा र ६ हजार १७८ जनाले इमरजेन्सी (ईआर) सेवा लिएको उनले जानकारी दिए ।
उपचारका लागि आएका सेवाग्राहीलाई गुणस्तरीय सेवा दिँदै आएको अस्पतालले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ३१ करोड ९७ लाख ६३ हजार ८८५ रुपैँया आम्दानी गरेको छ । सो अवधिमा अस्पतालले २३ करोड ३७ लाख १६ हजार ४८२ रुपैयाँ भने उपचारमा लाग्ने विभिन्न उपकरण, यन्त्र साथै स्वास्थ्यकर्मीलाई तलब दिनमा खर्च गरेको डा. रौशनले जानकारी दिएका छन् ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा बोर्डसँग समेत आवद्ध रही स्वास्थ्य बिमालाई प्राथमिकता दिएर सेवा दिइरहेको छ । बोर्डले भने स्वास्थ्य बिमा सेवा दिएबापतको भुक्तानी दिइनसकेको उनले बताए । ‘हालसम्म अस्पतालले स्वास्थबिमा सेवा दिएबापत बोर्डसँग १३ करोड ६८ लाख ७६ हजार ५९ रुपैंया भुक्तानी लिन बाँकी रहेको छ’, डा. दिपेन्द्र कुमार रौशनले बताए । अस्पतालले १० करोड ७ लाख रुपैयाँ विभिन्न सामाग्री सप्लायर्सहरुलाई र ३ करोड ५० लाख रुपैयाँ मध्यपुर थिमी नगरपालिकालाई भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।
यसै आर्थिक वर्षभित्र अस्पताललाई २०० शैया क्षमतामा विकास गर्ने लक्ष्य लिइएको डा. रौशनले बताए । उक्त लक्ष्यपुर्तिका लागि यही वर्ष थप एक सय शैया क्षमताको नयाँ भवन निर्माण सुरुसमेत गरिने उनले बताए ।
हालसम्म आफूहरुसँग उपलब्ध रहेको उपकरण साथै जनशक्तिको सही उपभोग गरि गुणस्तरीय सेवा दिएको दाबी गर्दै डा. रौशनले अन्य केही उपकरणको उपलब्धता रहेमा आएका सेवाग्राहीहरुले एकै अस्पतालबाट धेरै लाभ लिन सक्ने बताए । एमआरआई, ओटी, न्यूरो सम्बन्धी उपकरणहरु थप्न सकेमा उपचार गराउन आएकाहरुलाई आफ्नै अस्पतालमा धेरै उपचार सेवा दिन सकिने उनले बताए । त्यसका लागि नेपाल सरकार दातृ निकाय तथा सहयोगी संस्थाहरुसँग अनुरोध समेत गरेको डा. रौशनले बताए ।
आगामी आर्थिक वर्षमा हालको सेवासुविधालाई छिटो बनाइ सेवाग्राहीलाई छिटो उपचारसेवा प्रदन गर्ने लक्ष्य राखिएको उनले बताए । ‘१० मिनेट सेवा प्रदान भन्ने लक्ष्यको विकास गर्नेछौं’, उनले भने ।
कर्मचारीहरुको सेवा सुरक्षाको प्रत्याभुती दिलाउन अस्पताल सञ्चालन तथा व्यवस्थापन ऐनले दिएको अधिकार प्रयोग गरी आवश्यक कानून निर्माण गरी कार्यान्वयन गर्ने, कर्मचारीहरुको व्यवसायिक क्षमता अभिबृद्धिका लागि आवश्यक तालिम, प्रशिक्षण प्रदान गर्ने, अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने योजना रहेको बताए ।
उनले आफ्नो ५ वर्षे कार्यकालमा मध्यपुर थिमिका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा मार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने योजना समेत रहेको बताए ।