आमाको मुख हेरी आज मातातीर्थ औँसी मनाइँदै

आमाको मुख हेरी आज मातातीर्थ औँसी मनाइँदै

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • आमाको मुख हेरी आज मातातीर्थ औँसी मनाइँदै

    काठमाडौँ । आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने पर्व मनाइदैछ । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ यो पर्व देशभर मनाउँने गरिन्छ । 

    वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । 

    धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ ।

    आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुनेहरु सो कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजाअर्चना गर्ने गर्छन् ।   मातातीर्थ कुण्डमा स्नान गरेर त्यहाँ पुजागरे मातृऋणबाट मुक्त हुने जनविश्वास छ । 

    मातातीर्थ कुण्ड परिसरमा मङ्गलबार साँझ बत्ती बालेर मातृभक्ति प्रकट गर्दै माताविहीन सन्तान भजनकीर्तन गरेर रातभर जागा बसेका थिए । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा त्यहाँ वर्षेनी मेला समेत लाग्दै आएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij