काठमाडौं । आज पनि काठमाडौंसहित पाँच प्रदेशमा पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
हाल देशको पहाडी भुभागमा आंशिकदेखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै तराईका एक-दुई स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहीबार देशको पहाडी भुभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बर्षा, हिमपात र हावाहुरी चल्ने सम्भावना भएको क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।