भक्तपुर । मानव कल्याण समाज औपचारिक रुपमा सातौं वर्षमा प्रवेश गरेको छ । २०७२ सालको भूकम्पपछि अनौपचारिक रुपमा सुरु भएको संस्था सोमबारबाट सातौं वर्षमा प्रवेश गरेको हो ।
स्थापनाको छैठौं वर्षको अवसरमा संस्थाले सोमबार पनौतिको ढलमलेस्थित मानव कल्याण समाजको बालबालिका शाखामा एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष सुमि मानवले मानव कल्याण समाज विशुद्ध सहयोगको भावनाले खोलिएको संस्था रहेको बताइन् । संस्था नेपाल सरकार र बाह्य अन्य कुनै देशको अनुदानबिना "मुठी दान" को अवधारणा लिएर चलिरहेको उनकाे भनाइ थियाे ।

स्थापनाकालमा ७ जनाको समूहले सडकमा बस्ने असाहाय र बेसहारालाई खाना, नाना र छाना दिने उद्देश्यले खोलेको संस्थाको अहिले ६ वटा शाखा रहेका छन् । ६ शाखाबाट करिब ४०० जनालाई सेवा दिईरहेको मानवले बताइन् । हाल २१ जनाको समूहले सो संस्था सञ्चालन गरिरहेको मानव कल्याण समाजको बाल सेवा घरमा हाल ४२ जना बालबालिका छन् । काभ्रेकै शंखुस्थित सेवा घरबाट ८४ जना असहायलाइ सेवा दिइरहेकाे उनले बताइन् ।

बालबालिकाहरु कसैको पनि नाम थर केही थाहा नभएकाले सबैको जन्मदर्तामा थर "मानव" राखिएको र उनीहरुकै आमाको रुपमा सेवा दिइरहेकाले आफ्नो पनि थर फेरेर "मानव" राखिएको भन्दै सुमिले विगत सम्झिइन् । बाल सेवा घरका कुनै पनि बालबालिकाकाे नामथर साथै जन्ममिती समेत थाहा नभएकाले मानव कल्याण समाजकाे स्थापना दिवसलाइ नै बाल सेवा घरका सबै बालबालिकाकाे जन्मदिनकाे रूपमा समेत मनाउने गरिएकाे सुमि मानवले बताइन् ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ, पूर्व सांसद गणेश लामा लगायत विभिन्न व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
