सिन्धुली । बारीमा सुकेका झारपात जलाउन लगाएको आगोमा परेर वृद्धाको मृत्यु भएको छ । विहिबार विहान साढे ११ बजेतिर आफ्नै बारीमा लगाएको आगो निभाउन जाँदा लडेर आगोमा परि कमलामाई नगरपालिका वडा नं. १ खारखोलाकी ८६ वर्षिया कृष्णमाया पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी अनिलकुमार खड्काले बताए ।
कनपा १ का वडाध्यक्ष नरेश कुमार गोलेका अनुसार घरबाट करिब ५० मिटर पर रहेको आफ्नै पाखोबारीमा सुकेका झारपात, पतिंगर जलाउनका लागि आफैले बालेको आगो शरीरमा सल्किएको थियो । आगलागीबाट पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
आगो अन्यत्र जाने त्रासले वृद्धा आगो निभाउन जाँदा डिलबाट चिप्लिएर आगोमा खसेको अध्यक्ष गोलेले बताए । वृद्धा घरबाट हराएको भनि परिवारले खोजतलास गर्ने क्रममा जलेको अवस्थामा फेला परेकी थिइन् ।