चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

    गोदावरी । कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ । चुरे गाउँपालिका–२, ४ र ६ गरी तीन वडामा छवटा सिँचाइ योजना निर्माण सुरु गरिएको हो ।
     
    चुरेका विभिन्न खोलाको पानी नहर संरचना निर्माण गरी खेतीयोग्य जमिनमा सिँचाइ बिस्तार गर्न सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सुरु गरिएको भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

    चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको अनुदानबाट विनियोजित रु झण्डै एक करोडको लागतमा छवटा सिँचाइ योजना उपभोक्त समितिमार्फत निर्माण सुरु भएको कार्यालयका प्रमुख इन्जिनियर अमरबहादुर पालले बताए ।

    कार्यालयले दिएको जानकारीअनुसार खैरालाखोला सिँचाइ योजनामा १५ लाख रुपैयाँ, रानी भुकुडामा २० लाख रुपैयाँ, भुकुडा खोलामा १५ लाख रुपैयाँ, कुमैनामा १५ लाख रुपैयाँ, आमपानी खोलामा १५ लाख रुपैयाँ र बुङ्गा खोलामा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

    तरकारी र फलफूलखेतीको पकेट क्षेत्रका रूपमा चिनिने चुरेमा सिँचाइ अभावका कारण किसानले आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहँदै आएको स्थानीय टेकबहादुर शाहले बताए । सिँचाइ योजनाले समस्यामा परेका किसालाई राहत मिल्ने उनको भनाइ छ । 

    निर्माण सुरु गरिएका सबै क्रमागत योजना रहेको डिभिजन कार्यालयले जनाएको छ । चुरे गाउँपालिका सबै वडामा बेमौसमी तरकारी, सुन्तला, कागती, अमिलो, अदुवालगायत अन्य दलहन बालीका लागि पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

    विभिन्न वडामा निर्माण सुरु भएका सिँचाइ योजना सम्पन्नपश्चात किसानका खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij