कतारका राजा थानीका सुरक्षामा चारै निकाय तैनाथ, यस्तो छ दुई दिने कार्यसूची

कतारका राजा थानीका सुरक्षामा चारै निकाय तैनाथ, यस्तो छ दुई दिने कार्यसूची

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • कतारका राजा थानीका सुरक्षामा चारै निकाय तैनाथ, यस्तो छ दुई दिने कार्यसूची

    काठमाडौं । कतारका राजा शेख तमिम बिन हमद अल थानी आज नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा थानी ७ मन्त्रीसहित आज नेपाल आउन लागेका हुन् । 

    थानीको सुरक्षाका लागि नेपाली सेनाका रथी अशोकराज सिग्देलको नेतृत्वमा टोली खटिएको छ । साँझ साढे ५ बजे नेपालको औपचारिक भ्रमणमा आउन लागेका कतारी राजा थानीलाई उच्च महत्व दिँदै रथी सिग्देलले सुरक्षाको कमाण्ड गर्नेछन् । सिग्देलसँगै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा, सशस्त्र प्रहरी पशुपति बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापा पनि खटिएका छन् । 

    थानीको भ्रमणका लागि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका राजा थानीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरु सोमबारबाटै परिचालित भएका थिए ।

    यस्तो छ दुई दिने कार्यसूची

    विमानस्थलमा ओर्लनासाथ राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेपछि रथी सिग्देलको गाडीले कमाण्ड गरेर उनलाई होटल सोल्टीको स्वीट रुममा पुर्याउनेछ । जामरसहितको गाडी सडकमा हुने भएकाले विमानस्थलबाट सोल्टीसम्मको क्षेत्रमा आधा घण्टा सञ्चारसेटमा अवरोध समेत हुनेछ । 

    थानीले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा आजै बेलुकी राजकीय भोजको आयोजना गर्दैछन् ।
     
    त्यस्तै कतारी राजा थानीले यही बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । 

    त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

    भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । 

    कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने बताइएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरेको छ । मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ । कतारका राजा थानी बुधबार अपरान्ह स्वदेश फर्कने छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij