काठमाडौं । धनषामा मोटरसाइकल दुर्घटनामा परि पत्रकार विनयकुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–५ घर भएका उनको मंगलबार बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको हो।
ढल्केवरबाट धनुषाधाम फर्किने क्रममा आफैंले चलाएर आउँदै गरेको मोटरसाइकल मिथिला नगरपालिका–६ स्थित ढल्केवरमा अनियन्त्रित भइ सडकछेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।
यादव साथीहरूसँगको जमघट सकेर प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकलमा सवार भइ घर फर्किने क्रममा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार भएका पत्रकार यादवका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव घाइते भएका छन्। उनीको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको छ। पत्रकार यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यादव रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक पनि थिए ।